दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी
काठमाडौं, ५ असार। पहिलो चरण निर्वाचनमा मतदाता शिक्षा अभावका कारण धेरै मत बदर भएपछि दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाइएको आयोगले जनाएको छ । मतदाता शिक्षा अन्तर्गत निर्वाचन आयोगले विभिन्न मतदाता शिक्षा सम्बन्धी सामग्री प्रकाशन र प्रसारण समेत गरेको छ । त्यस मध्ये मतपत्रमा सहि तरिकाले मतसङ्केत गर्ने तरिकाको सम्बन्धमा निर्वाचन आयोगद्वारा तयार गरिएको भिडियोले मतदातालाई सहि तरिकाले मतदान गर्न सहयोग मिल्ने छ।
प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा यही असार १४ गते निर्वाचन हुँदै छ । जुन निर्वाचनका लागि आइतबार ती तीनवटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएका छन् । बांकी रहेको २ नम्बर प्रदेशमा भने तेस्रो चरणमा असोज २ गते निर्वाचन हुने भएको छ ।