यूएई एसीसी प्रिमियर कप : बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा

भक्तपुर न्यूज

१३ वैशाख २०८० ९:३१

यूएई एसीसी प्रिमियर कप : बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा

काठमाडौं । अन्तिम खेलमा बुधबार बहराइनलाई ८ विकेटले पराजित गरेपछि यूएई एसीसी प्रिमियर कपको समूह बीबाट सेमिफाइनलमा पुगेको छ । मूलपानी (माथिल्लो) मैदानमा ११७ रनको लक्ष्य २७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्ने क्रममा यूएईका वृत्य अरविन्द र रोहन मुस्तफाले अविजित अर्धशतकीय योगदान गरे ।

ओपनरद्वय आर्यन लाक्रा ५ र कप्तान मोहम्मद वासिम १ रनमै आउट भए पनि अरविन्द र मुस्तफाले तेस्रो विकेटका लागि ९९ रनको अविजित साझेदारी गरी टिमलाई जिताए । चौका प्रहार गरी जित निश्चित गरेका रोहनले अर्धशतक पनि पूरा गरे । उनले ५६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । वृत्य ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनलाई ४०.५ ओभरमा ११६ रनमै अलआउट गर्न यूएईका आयान अफ्जल खानले ४ विकेट लिए र उनले १० ओभरमा ७ मेडन राख्दै ६ रनमात्र खर्चिए । रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले २-२ तथा जहूर खानले १ विकेट लिए ।

बहराइनका लागि कप्तान हैदर बटले सर्बाधिक २३ रन बनाए । बहराइनका तीन ब्याटर खाता नखोली आउट भएका थिए । समूहका चार खेलबाट ६ अंक जोडेको यूएईले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यो समूहबाट बिहीबार हङकङ र कुवेतबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

समूह ए बाट भने नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लगाउन अहिले किर्तिपुर मैदानमा ओमान र साउदी अरबबीच खेल भइरहेको छ ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय