प्रतिनिधि सभामा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

भक्तपुर न्यूज

१३ वैशाख २०८० ९:२२

प्रतिनिधि सभामा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस नहुने भएको छ । बुधबार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने भएको हो ।

साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाइ समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस हुने छैन ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरीले समितिमा सदस्यहरू पेस हुन नसक्नुमा नेपाली कांग्रेससहितका केही दलहरूले सदस्यहरूको नाम दिनका लागि बिहीबारसम्मको समय मागेको बताए ।

संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुनेजस्तो गरी आएको प्रस्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरूका बीचमा संसद्भित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक रहेको बताए । उनले छलफल टुंगिन नसक्दा समितिहरू बन्न नसकेको पनि बताए ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय