एमाले अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

भक्तपुर न्यूज

१३ वैशाख २०८० ८:१५

एमाले अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

काठमाडौं । नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरेका छन् । सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

उनले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे। उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (एमाले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनी अध्यक्ष बनेका थिए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मितिः २०८० बैशाख १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय