एमालेले निर्वाचन आयोगलाई बुझाए चुनावी खर्च विवरण
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २२ लाख ४५ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेलले छापा एवं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। त्यस्तै, सवारी साधन भाडामा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तर्क्रिया र कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविधमा १० हजार गरी २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा रु. १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसै गरी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेले रु. २७ लाख ८९ हजार ५ सय २० खर्च भएको विवरण बुझाएका छन् । घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले रु. २ लाख ६३ हजार ९ सय २०, २ (१) बाट उम्मेदवार लिला गिरीले रु. २ लाख ४८ हजार ७ सय ५०, २ (२) बाट उम्मेदवार भोज प्रसाद श्रेष्ठले रु. १३ लाख ८९ हजार ७ सय ४१ र ३ (२) बाट उम्मेदवार तुलसी प्रसाद चौधरीले रु. २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।
त्यसै गरी क्षेत्र नम्बर ४ (१) बाट उम्मेदवार सुनिल कुमार गिरीले रु. १ लाख १० हजार, ५ (१) बाट उम्मेदवार भुमिश्वर ढकालले रु. ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार भएका राम चन्द्र यादवले रु. ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।
आफ्ना उम्मेदवारहरूले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणलाई एमालेले मंगलबार सार्वजनिक गरेको हो।
प्रकाशित मितिः २०८० बैशाख १२ मंगलबार
