सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको उनको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।
अब अन्तिम सुनुवाइका लागि फेरि अर्को पेसी तोकिनेछ । अर्को पेसीमा पुनः जाहेरवालाकै तर्फबाट बहस सुरु हुनेछ ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।
तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।
प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार
