मेलम्चीबाट दैनिक १२ करोड लिटर पानी वितरण
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड लिटर उपभोक्तालाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच करोड लिटर पानी पाइप परीक्षणका लागि र बाँकी उपभोक्ताको घरघरमा वितरण भइरहेको जनाइएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक १२ करोड लिटर पानी उपभोक्ताले प्रयोग गरीरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । बाँकी पानी कति क्षेत्रफलमा परीक्षण गर्ने सोही आधारमा खपत हुने उनले बताए। प्रमुख शाक्यले भने, ‘परीक्षणका लागि प्रयोग भएको बाहेक पानी उपभोक्ताको धारामा पठाइएका छौँ ।’ उपभोक्ताको घरमा दुई दिनको फरकमा पानी वितरण गरिरहेको लिमिटेडले जनाएको छ ।
पहिले भित्री बस्तीमा पानी नआउने भनी गुनासो आएकामा अहिले त्यो समस्या समाधान गरी नियमित पानी वितरण गरिएको प्रमुख शाक्यको भनाइ थियो ।
मुख्य लाइनबाट भित्र भने पानीको पाइप उपभोक्ताको घरसम्म नपुगेकाले पानी वितरण हुन नसकेको उनले बताए। केही ठाउँमा धारा बिग्रिएको, जाम भएको वा बीचमा छुटिएको गुनासो आएकाले मर्मत गरी नयाँ पाइप जडान पश्चात् पानी वितरणको तयारी भइरहेको प्रमुख शाक्यले जानकारी दिए। उनका अनुसार भक्तपुर नगरपालिकाका विभिन्न स्थानबाट गुनासो आइरहेको छ ।
लिमिटेड र नगरपालिकाबीच समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नगरपालिकाले पाइपका लागि खन्ने र पुर्ने कामका लागि खर्च बेहोर्ने र लिमिटेडले पाइप तथा आवश्यक अन्य सामग्रीको खर्च बेहोर्ने गरी सहकार्य भएको प्रमुख शाक्यले बताए।
यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ ।
प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार
