प्रतिनिधिसभामा सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

भक्तपुर न्यूज

३ वैशाख २०८० १०:१२

प्रतिनिधिसभामा सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्री प्रचण्ड हराएको व्यङ्ग्यात्मक सूचना, रास्वपाका सभापति रवि लामिछानेको गसहमन्त्रीत्वकालमा भएका अनियमिततालगायत चीनमा बाँदर निकासीसम्मका विषयवस्तु सांसदहरूले उठाएका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाउँदै भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलिया पहिले कोट पाइन्ट लगाउने हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाधेको ७० नपुगेको जस्तो देखिने । अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको र ‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला।’

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लाञ्छना लगाउँदै नयाँ पार्टीप्रति पनि पुरानै प्रवृत्ति देखिएको टिप्पणी गरे ।

उनले लामिछानेको गृहमन्त्रीत्वकालमा राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताए । लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति दोहो¥याएको उल्लेख गरे ।

केसीले भने, ‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रूपमा पनि अक्षम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन ।’

“‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए,’ केसीले भने, ‘खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन ।’

यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका बाँदर चीनमा निर्यात गर्न सरकारलाई सुझाव दिए । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्दै माग गरे ।

सांसद खतिवडाले भने, ‘देशमा बाँदर आतंक छ । ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकटमा परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि त मार्ने अनुमति दिइयोस् ।’

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय