सामान्य अंकले घट्यो शेयर बजार , ९७ करोड ४५ लाख रुपैयाँको कारोबार
काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै एसियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज आदर्श लघुवित्त, मोलुङ खोला हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।
प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार
