अमेरिकामा आँधी कारण पाँच जनाको मृत्यु, पाँच घाइते
काठमाडौं । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ ।
देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन्भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् ।
राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएका छन् । उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् ।
प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार
