तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन माग
काठमाडौं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद साहले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । बहराईन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योग्यता र सेवाबाट नेपाललाई चिनाएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पारिन् ।
सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताइन् ।
प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार
