आज हुने भनिएको उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका दुई दिन पछि सर्यो
काठमाडौ, २ असार । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि आज उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका भएपनि निर्वाचन आयोगले दुई दिन पछिलाई सारिएको छ ।
सबै दलको सहभागिता सुनिश्चितताका लागि भन्दै सरकारको आग्रहमा निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ता मिति आइतबारसम्मलाई सारेको हो ।
सरकारले आउँदो १४ गतेलाई तय भएको प्रदेश नं. १, २, ५ र ७ मध्ये प्रदेश नं २ को चुनाव सारेर असोज २ गते गर्ने र बाँकी प्रदेशको चुनावको लागि मनोनयनको समय आगामी आइतबारसम्म पुर्याउने निर्णय गरेपछि आयोगले कार्यतालिका हरेफेर गरेको हो ।
नयाँ तालिका अनुसार उम्मेदवार मनोनयन दर्ता आइतबार ४ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ भने दर्ता भएका उम्मेदवारको सूचि त्यही दिन प्रकाशन हुनेछ । उम्मेदवारको बिरोधमा उजुरी दिन ५ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने र त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने आयोगले जनाएको छ । नयाँ तालिका पछि उम्मेदवारको प्रचार गर्ने अवधि घटेको छ ।
