पूर्वाञ्चल विश्वविद्यालयका साढे ६ हजार विद्यार्थी दीक्षित
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा आज मोरङको गोठगाउँस्थित विश्वविद्यालय परिसरमा ६ हजार ५१३ जना विद्याथी दीक्षित भएका छन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।
दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जनासमेत छन्। समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक उपाधी प्रदान गरेका थिए।
प्रकाशित मितिः २०७९ चैत्र १९ आइतबार
