सरकारी वेबसाइटका पुराना लिंक तथा सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेभसाइटहरुमा रहेका पुराना वेभपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ। कतिपय सरकारी निकायले नयाँ वेभसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो।
प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले दिएको जानकारी अनुसार, नयाँ वेभपेज बनाउँदा पुराना वेभसाइटका फाइल, डाटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो।
हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेभपेज निर्माण गरेका छन्। यसरी निर्माण भएका वेभपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरुको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेभ टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए।
प्रकाशित मितिः २०७९ चैत्र १३ सोमबार
