साझा नीति र कार्यक्रम बनेपछि मात्र सरकारले पूर्णता पाउँछ: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साझा नीति र कार्यक्रम बनेपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले साझा नीति र कार्यक्रम बनाउन छलफल चलिरहेको बताए।
त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ थियो। प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा आफूले अर्थ र परराष्ट्र मन्त्रीका विषयमा सुझाव दिएको नेपालले बताए।
प्रधानमन्त्रीलाई दिएको सुझावबारे बताउँदै उनले भने, “प्रधानमन्त्रीलाई भनेको छु, अर्थ मन्त्री यस्तो व्यक्तिलाई दिनुहोस्, जसले देशको अर्थतन्त्रका समस्या राम्ररी बुझ्न सकेको छ। समस्याका कारण पत्ता लगाउन सक्दछ। समाधान दिन सक्छ।”
यस्तै, परराष्ट्र मन्त्रालयमा पनि कूटनीति बुझेको मान्छे ल्याउन सुझाव दिएको उनले बताए। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको एक महीना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनमा सहभागी साना दललाई भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जनाइएको छ।
प्रकाशित मितिः २०७९ चैत्र १२ आइतबार
