कांग्रेस सांसद नगएपछि मुख्यमन्त्रीले लिन पाएनन् विश्वासको मत

भक्तपुर न्यूज

८ चैत २०७९ १०:३३

कांग्रेस सांसद नगएपछि मुख्यमन्त्रीले लिन पाएनन् विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अनुपस्थित भएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुने भएको छ। बुधबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेसका सांसदहरु काठमाडौं हिँडेपछि बैठक स्थगित गर्ने तयारी गरिएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य सरल सहयात्रीले जानकारी दिए।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेतृत्वमा आलोपालोको सहमति नभएकाले आफूहरु अनुपस्थित भएको बताए। दलका नेता लामाले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत दिन कुनै दुविधा नभए पनि प्रदेश सरकारहरूको नेतृत्वको बारेमा सहमति नभएकाले स्थगित गर्नुपरेको बताए।

उनले नयाँ समीकरणमा केन्द्रबाट कुन प्रदेश कसको भागमा पर्छ सोही अनुसार अगाडि बढ्ने बताए। नेता लामाले आज काठमाडौंमा आफूहरूबीच प्रदेश सरकारको नेतृत्व कसले पहिला गर्ने भन्नेबारे छलफल गरेको बताए।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

राप्रपा बाहिरिए पनि अहिलेसम्म एमाले भने सरकारमै छ। सरकारमै भए पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एमाले अलमलमा छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७, नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय