सरकार भारतको इशारामा चलेको छ :अध्यक्ष बिजुक्छें
भक्तपुर ३१ जेठ । नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार दिल्लीकै इशारामा अनुसार चलेको दाबी गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव ल्याएको बताए ।
निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै बिजुक्छेंले निर्वाचन अवधिसम्म आयोग सरकारको होईन सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे । तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उनको भनाई छ ।
सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको आरोप लगाउँदै उनले सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काईरहेको खुलासा गरे । सरकार राजपाको माग अनुसार संविधान संशोधन होईन ऐन संशोधनको तयारीमा रहेको छ उनले भने ‘राजपालाई झुक्काएर होईन प्रष्ट पारेर राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ ।’
सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमितता गरिरहेको बताउँदै उनले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने धारणा राखे । उनले भने ‘अधिकृत बाहेकका अन्य कर्मचारी र पदाधिकारीका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।’ भारत र नेपाल दुबै देशको दोहोरो तलब खाएर काम गर्ने जासुसहरुको संख्या राजनीतिक परिवर्तनसँगै बढ्दै गएकोले देशको गोपनियतामाथि झनै प्रश्न उठेको बिजुक्छेंले बताएका छन् ।