निर्वाचनमा भाग लिन राजपालाई एमालेको आग्रह

भक्तपुर न्यूज

३० जेठ २०७४ १२:२८

निर्वाचनमा भाग लिन राजपालाई एमालेको आग्रह

काठमाडौं, ३० जेठ । नेकपा एमालेले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेको छ । सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्न र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्न एमालेले आज राजपालाई आब्हान गरेको हो ।
एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको आज बसेको बैठकले राजपाका नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि, एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुका विरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्सना गरेको छ । यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको बैठकपछि सचिव योगेश भट्टराईले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिएको छ । कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रका विरुद्ध सजग रहन आम जनतालाई आह्वान गर्दै बैठकले निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनै पनि कुराप्रति एमालेको गम्भीर असहमति रहने प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *