पाठ्यक्रमअनुसार इन्टर्नसिप गर्न नपाएको भन्दै आयुर्वेदका विद्यार्थी आन्दोलित
काठमाडौं । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस इन्टर्नसिपका विद्यार्थीहरू आन्दोलित भएका छन् । भर्ना हुँदा पाठ्यक्रम (सेलेबस)मा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्टर्न गर्न पाउनुपर्ने माग राख्दै उनीहरूले १८ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
उनीहरूले माग सुनुवाइ नभएपछि आठ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम मापदण्डको ५० प्रतिशत पनि पूरा नभएका अस्पतालहरूमा आफूहरूलाई इन्टर्नमा पठाइएको उनीहरूको आरोप छ ।
“हामीलाई प्रदान गरिएको सेलेबस अनुसार छ महिनाको इन्टर्नसिप नरदेवीमा र छ महिनाको आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । तर, सोअनुसार भएन । हामीलाई सेलेबसमा उल्लेख गरिए अनुसार इन्टर्नमा पठाइएन किन पठाइएन भनेर प्रश्न गर्दा कुनै जिम्मेवार निकायबाट जवाफ नआएपछि आन्दोलनमा उत्रिनुपरेको हो,” आन्दोलनको नेतृत्व गरिरहेका बीएएमएस इन्टर्न डा. सुनिल भुसालले भने ।
प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार
