सरकार र राजपा दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा : प्रवक्ता देवकोटा
भक्तपुर, २९ जेठ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागी परेको र त्यसलाई थप मलजल गर्दै राजपा समेत लागी परेको भन्दै दुवैको उद्देश्य संबिधानको स्विकार्यता नबढाउने र कार्यान्वयन नगर्ने उद्देश्य अनुरुप निर्वाचन नगर्ने र जनता र राष्ट्रलाई पिडा थप्ने खेलमा लागेको बताए ।
सत्ताका लागि लुछाचुँडी गर्ने भन्दा पनि पहाड छुट्याउन लागि परेकाहरुलाई सहयोग पुग्ने गरी दुई चरणमा निर्वाचन गरेको आरोप लगाउँदै सरकारले काम गरिरहेको उनले आरोप लगाए । उनले प्रधानमन्त्री र सरकार निर्माणको प्रक्रियामा आउने राजपा स्थानिय तहको निर्वाचनमा नआउँदा आफैलाई घाटा पुग्ने भएकाले एजेण्डा बचाउँदै निर्वाचनमा गएर त्यसलाई पूर्णता दिनु पर्नेमा जोड दिए ।
उनले सरकार र प्रतिपक्ष राष्ट्रको हितमा गरिने निर्णयमा नमिल्ने तथा आफूहरुलाई अकुत आम्दानी हुने कुराहरु जस्तै राष्ट्र बैंकमा रहेको अरवौं कालो धन र एनसिएलको कर लाभमा मिल्ने कुरामा सहमती गर्ने खेलमा लागेकै कारण सरकारले संबिधान कार्यान्वयन भन्दा पनि सत्ता टिकाउने र आर्थिक लाभ लिने खेलमा लागेको बताए ।
उनले बहुदली लोकतन्त्रको अभ्यास भन्दा पनि केही दलहको अभ्यास भईरहेको भन्दै १७ सालमा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए जस्तै हाल प्रचण्ड सरकारले तीन दलिय सिन्डिकेट लागू गरेको बताए । उनले यसै गरि अगाडी बढ्दै जाने हो भने लोकतन्त्र सकिने र एक दलिय सिन्डिकेट देखा पर्ने बताए ।
आफूले नजित्ने अवस्था आएपछि भरतपुरमा आफ्नै आधिकारीक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको भन्दै सत्तामा रहेका पार्टीले शक्ति र अर्थको सक्दो प्रयोग गरेता पहिलो चरणको निर्वाचनमा उनीहरुको सोच जस्तो नतिजा नआएको बताए ।
नयाँ शक्ति नेपाल एक वर्ष नुपग्दै ७० बर्ष पुरानो पार्टीहरुसँगको प्रतिस्पर्धामा उत्रिएको र चौंथो स्थान हासिल गर्न पुगेको भन्दै देवकोटाले चुनाव चिन्ह नपाउँदा र समाजबादी फोरमसँगको आफ्नो नीति मिलेकै कारण एकता हुने बताए ।
उनले हाल नेपाल सबैभन्दा कठिन मोडमा रहेको र बिदेशीहरुको क्रिडा स्थल बन्दै गएकाले एकथरि दक्षिण र अर्कोथरी उत्तरतर्फको पछि लाग्ने खेललाई बन्द गरी नेपालको सार्वभौमिकताको ख्याल गरि अगाडी बढ्ना सत्ताधारी दलहरुलाई आग्रह गरे ।