एलपीजी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा !

भक्तपुर न्यूज

१७ फागुन २०७९ ११:०४

एलपीजी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा !

काठमाडौं । खाना पकाउने एलपीजी ग्यासमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने भएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई प्रतिसिलिन्डर एलपीजी ग्यासमै ६३५ रुपैयाँ घाटा हुने भएको हो ।

आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि खाना पकाउने एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । तर, आज प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई सिलिन्डरमा ६३५ रुपैयाँ घाटा हुने भएको हो ।

निगमले उपभोक्तालाई एलपीजी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।यससँगै, निगमलाई एक महिनामा एलपीजी ग्यासको बिक्रीबाट १ अर्ब ८६ करोड रुपैयाँ घाटा हुने भएको छ । १५ दिनको अवधिमा मात्रै निगमलाई एलपीजी ग्यासको बिक्रीबाट ९३ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा भारतबाट ३३ अर्ब ३४ करोड २९ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको २९ करोड ३९ लाख २२ हजार किलोग्राम एलपीजी ग्यास आयात भएको छ । यसबापत राज्यले ६ अर्ब २१ करोड रुपैयाँ राजश्व आर्जन गरेको छ ।

प्रकाशित मितिः २०७९ फागुन १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय