एमालेलाई एमालेले नै हराएः माधव नेपाल

भक्तपुर न्यूज

२९ जेठ २०७४ ४:१०

एमालेलाई एमालेले नै हराएः माधव नेपाल

काठमाडौं २९ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको चुनावमा एमालेका नेताले एमालेकै नेतालाई हराएको बताएका छन् । उनले यसबारे पार्टीको बैठकमा कुरा राखेको र उनीहरुमाथि कारवाही हुनुपर्ने मागसमेत गरेका छन् ।

नेता नेपालले भनेका छन्– काठमाडौंकै दक्षिणकाली, ललितपुर, सुर्खेत, दैलेख लगायतका ठाउँमा पार्टीका नेतालाई पार्टीकै नेताले हराउने काम भएको छ । यो सबै कुरा मैले बैठकमा उठाएको छु । दोस्रो चरणको निर्वाचनपछि कारवाहीको विषय बन्छ ।’ पूर्वप्रधानमन्त्री नेपालले अन्तरघात नभएको भए पहिलो चरणको चुनावमा एमालेले १५० सीट जित्ने दाबीसमेत गरेका छन् ।

एमाले नेता नेपालको भनाइ छ– ‘पहिलो चरणको निर्वाचनमा आवश्यकता अनुसार उपयुक्त उम्मेदवार भएनन् । कतिपय ठाउँमा उपयुक्त उम्मेदवार हुँदाहुँदै पार्टीभित्रैबाट उसलाई हराउने काम भएको छ । यी सबै कारणले जति सीट ल्याउनुपर्ने हो, त्यस्तो आउन नसकेकै हो । पहिलो चरणको निर्वाचनमा एमाले १५० सीट भन्दा बढी तहमा जित्नुपर्ने हो ।’

पहिलो चरणको चुनावमा माओवादी र कांग्रेसको गठबन्धन र सत्ताको दुरुपयोग भएको छ नेता नेपालले अन्तरवार्तामा बताएका छन् । तर, यी सबै चुनौतीका बाबजुद पनि एमालेको पक्षमा राम्रै रिजल्ट आएको उनको विश्लेषण छ ।

पार्टीभित्र गुटबन्दी गर्ने र आफ्नै मान्छेलाई हराउनेहरुलाई कारवाही गरिनुपर्ने नेता नेपालको माग छ । उनले भनेका छन्– गुटबन्दी गर्ने, आफ्नै पार्टीका उम्मदेवारलाई चुनाव हराउन खोज्नेलाई तुरुन्त कारवाही गर्नुपर्छ । आफ्ना मान्छे भन्दै जोगाउने, कारवाही नगर्ने, गुटबन्दीमा लागे पार्टी वा अरु कसैलाई फाइदा हुँदैन ।’

तर, यस्तो कारवाही दोस्रो चरणको चुनाव सकिएपछि गर्नुपर्ने र यसबारे पार्टीमा कुरा उठ्ने एमाले नेता नेपालको भनाइ छ । उनले भनेका छन्– निर्वाचनका बेलामा सबै विषयहरु उठाएर अघि बढ्न सकिँदैन । निर्वाचनपछि गल्ती भएका विषयमा यथोचित प्रश्नहरु उठ्नेछन् । कार्यकर्ताको मनोभावना अनुसार बैठकमा कुरा उठ्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *