बदनियतले काम गर्ने लघुवित्तहरूलाई तत्काल कारबाही गर्नुपर्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्नुपर्ने माग गरे ।
थापाले लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए । लघुवित्तका कारण कैयौँ गरिब जनतामाथि उठ्न नसक्ने गरी थला परेको थापाको टिप्पणी छ ।
‘लघुवित्तको वास्तविक मर्कामा परेकाहरूको लागि सामाजिक उत्तरदायित्व वा निक्षेपकर्ता कोषको प्रयोग गर्ने र बदनियतका साथ काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्ने र एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरीवेक्षण कार्य तत्लो तहसम्म गर्ने र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तत्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गरोस्,’ थापाले भने ।
लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुट्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको थापाको भनाइ छ ।
अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजानसमेत उनले माग गरे ।
प्रकाशित मितिः २०७९ फागुन १० बुधबार
