यस्तो छ मन्त्रिपरिषद् बैठकको आजको निर्णय
काठमाडौं, २८ जेठ । सरकारले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ पुनः संशोधन गर्ने भएको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।
राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक संसदमा दर्ता गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । दल दर्ता गर्न नपाएपनि ६ वटा दल भित्रकै चुनावचिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो ।
सरकारले राजनीति दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक आईतबारनै व्यवस्थापिका संसदमा दर्ता गराउने र सोमबारसम्म पारित गरिसक्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पारित हुने अवस्था नरहेकाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन प्रस्ताव भने अघि बढाउन नसकिने उल्लेख गरिसकेका छन् ।