‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन सुरू

भक्तपुर न्यूज

७ फागुन २०७९ ९:१७

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन सुरू

काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन सुरू भएको छ।इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शोको अडिसन फागुन ६ गते नेपालगन्जबाट सुरू गरिएको हो।

अडिसन बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ।

अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्नेछ। अडिसनबाट छानिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियाे अडिसनमा सहभागी हुन पाउनेछन्।

देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर दर्ता गर्न सक्नेछन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।

‘मेरो डान्स युनिभर्स’ को संस्कृतिक समुह विधामा सहभागी हुन इच्छुकले एपमार्फत अडिसन दिन सक्नेछन्। संस्कृतिक समुहमा सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्ने छैन। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने प्रतियोगी कम्तीमा १८ वर्षको हुनपर्नेछ।

‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दु:खमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो,’ फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने।

‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन्। फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्।

यस्तै ‘मेरो डान्स युनिभर्स’ का विजेताले पनि १ करोड रूपैयाँ पुरस्कार पाउने छन्। यो शोको फर्स्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने छन्।

उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्। शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा, सुरेश अधिकारी र सुनिता थेगिम निर्णायक रहेको गायन-शो रिमा विश्वकर्मा र प्रजीत रानाले होस्ट गर्ने छन्।

दीलिप रायमाझी, प्रियंका कार्की, शंकर विसी, केकी अधिकारी, निर्माण राई र मिथिला शर्मा निर्णायक रहेको नृत्य-शो भने नरेश भट्टराई र सुनिता गुरुङले होस्ट गर्ने छन्।

एलिन श्रेष्ठको निर्देशन रहने यी दुई रियालिटी-शो टेलिभिजनमा प्रसारण हुने छन्। कुन च्यानलमा प्रसारण हुने भन्नेबारे टुंगो लागेको छैन।

प्रकाशित मितिः २०७९ फागुन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय