फागुन १९ गतेदेखि हुने ‘ए डिभिजन लिग’को ५० प्रतिशत तयारी पूरा भयोः एन्फा

भक्तपुर न्यूज

२० माघ २०७९ १०:३०

फागुन १९ गतेदेखि हुने ‘ए डिभिजन लिग’को ५० प्रतिशत तयारी पूरा भयोः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ गतेदेखि हुने तय भएको सहिद स्मारक ए डिभिजन लिगको ५० प्रतिशत तयारी भइसकेको जानकारी दिएको छ। डबल राउन्ड रोबिन लिग पद्धतिमा हुने लिगका कुल एक सय ८२ खेल दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुने एन्फाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दियो।

यद्यपि, लिग सुरु हुन २९ दिन बाँकी रहँदासम्म पनि मुख्य प्रायोजक नपाउनुलाई गम्भीर रूपमा हेरेको पनि महासचिव राईले बताए। लिगको पूरा तालिका सार्वजनिक नगर्नुको कारण बीचमा परेको फिफा डे भएको बताएका छन्।

खेलाडी दर्ताको प्रक्रिया जारी रहेको र माघ २९ सम्म खेलाडी दर्ता भइसक्ने विश्वास व्यक्त गर्दै निर्देशक मिश्रले प्राविधिक कारणले मात्रै ढिलो भएको तर गम्भीर समस्या नहुने बताए। एन्फाले चाहेर पनि क्लबहरु लामो समय लिग खेल्न नचाहेकाले तीन महिनामा सकाउनु पर्ने निर्देशक मिश्रले बताए।

ए डिभिजन लिगको विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगमा एक क्लबले फेयर प्ले अवार्ड स्वरूप तीन लाख पुरस्कार उपलब्ध गराउने एन्फाको तयारी छ।

यस्तै, उत्कृष्ट उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले दुई-दुई लाख प्राप्त गर्नेछन्। उदीयमान खेलाडीले एक लाख ५० हजार र प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन्। बराबरी हुँदा २५–२५ हजार बाँडिने र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउने पनि एन्फाले जानकारी दिएको छ।

प्रकाशित मितिः २०७९ माघ २० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय