स्नातक तह परीक्षा तालिकाको चौतर्फी विरोधपछि आवेदन दिने म्याद थप
काठमाडौं । स्नातक तह चौँथो वर्षको परीक्षा तालिका अव्यवहारिक भएको भन्दै चौतर्फी विरोध भएपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्ने म्याद थप गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना जारी गर्दै सो तहका लागि परीक्षा फारम भर्ने म्याद सात दिन थप गरेको हो । यसअघि सो म्याद माघ सात गनेसम्म राखिएकोमा अब दोब्बर दस्तुरमा माघ १५ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
त्यस्तै, स्नातक पहिलो वर्षको परीक्षाका लागि पनि माघ २२ सम्म एकल दस्तुर र त्यसपछिको सात दिन दोब्बर दस्तुरमा आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
त्रिविले गत पुस २९ गते आवेदन फारम खुला गरेर माघ ६ गते विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा संकाय स्नातक चौँथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार आगामी फागुन १० गतेदेखि परीक्षा सुरु हुने जनाइएको छ ।
परीक्षा फारम खुलेको न्यूनतम ३५ दिनभित्र मात्रै परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने नियम विपरित त्रिविले मनोमानी निर्णय गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले तत्काल निर्णय सच्याउन चेतावनी दिँदै आएका थिए ।
प्रकाशित मितिः २०७९ माघ ११ बुधबार