अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार, मूल्यवृद्धि ७.३८ प्रतिशत

भक्तपुर न्यूज

२९ पुष २०७९ ११:०१

अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार, मूल्यवृद्धि ७.३८ प्रतिशत

काठमाडौं । विदेशी मुद्रा सञ्चिति, भुक्तान सन्तुलन, रेमिट्यान्स आप्रवाहलगायत अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार देखिएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा बाह्य क्षेत्रमा देखिएको दबाब सुधारोन्मुख हुँदै गएको देखिएको हो।

घट्दो आयात र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको शोधनान्तर स्थितिमा थप सुधार देखिएको छ।

कात्तिक मसान्तसम्म २० अर्ब ३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति मंसिरमा आइपुग्दा ४५ अर्ब ८७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो।

यस्तै, अमेरिकी डलरमा मंसिरसम्म १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा भने ३४ करोड ६८ लाखले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

यस्तै, सरकारको चालु खाता घाटामा उल्लेख्य सुधार देखिएको छ। मंसिरसम्म चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको प्रतिवेदनले देखाएको छ। गत वर्षको सोही अवधिमा भने यस्तो घाटा २ खर्ब ९८ अर्ब ५१ करोड थियो।

विदेशी मुद्रा सञ्चितिमा सुधार
मंसिरमा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले बढेर मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा मंसिरमा ३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड कायम भएको छ।

राष्ट्र बैंकका अनुसार हाल रहेको विदेशी मुद्राको सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। यसअघि असोजसम्म रहेको सञ्चितिले ८.३ महिनालाई पुग्थ्यो।

रेमिट्यान्स पनि बढ्यो
मंसिर मसान्तसम्म २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।

प्रकाशित मितिः २०७९ पुष २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय