मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित ३ जना मन्त्रीले लिए शपथ
धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएको छ । आज शुक्रवार एक समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई शपथ ग्रहण गराएको छ । मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गरेको छ ।
मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतको सहभागिता थियो ।
शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गरेको थियो ।
प्रकाशित मितिः २०७९ पुष २९ शुक्रबार
