दुईपांग्रेको व्यापार खस्किँदा नेपालमा बजाजको आम्दानी ३ अर्बले घट्यो

भक्तपुर न्यूज

१४ पुष २०७९ १०:४६

दुईपांग्रेको व्यापार खस्किँदा नेपालमा बजाजको आम्दानी ३ अर्बले घट्यो

काठमाडौं ।  बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीको कारोबार ३ अर्ब बढीले घटेको छ। आर्थिक वर्ष २०७८/०७९ मा दुईपांग्रे र तीनपांग्रेको व्यापार कम हुँदा सञ्चालन आम्दानी घटेको हो।

आर्थिक वर्ष २०७७/०७८ मा हंसराज हुलासचन्दले २५ अर्ब ४२ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेकोमा २०७८/०७९ मा २२ अर्ब १३ करोड रुपैयाँ मात्रै गर्न सफल भएको हो। अघिल्ला वर्षको तुलनामा ६० प्रतिशतले आम्दानी घटेको हो।

कोभिड महामारीको कारण २०७६/०७७ मा कम्पनीको आम्दानी १६ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको थियो। त्यसअघि २०७५/०७६ मा नै २१ अर्ब ६९ करोडको आम्दानी गरेको थियो।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आम्दानी घट्नुमा महंगीले आक्रान्त अर्थतन्त्र र उच्च ब्याजदर मुख्य कारण रहेको उल्लेख गरेको छ।

कम्पनीको कारोबार घटे पनि नाफाको प्रतिशत भने उस्तै छ। बजाज नेपालमा सबैभन्दा बढी बिक्री हुने दुईपांग्रे मोटरसाइकल हो। गत आर्थिक वर्षमा करिब ४० प्रतिशत बजार हिस्सा बजाजको मात्रै छ। कम्पनीसँग स्कुटर नहुँदा पनि उपस्थिति राम्रो छ।

१९५९ मा स्थापना भएको हंसराज हुलासचन्द बजाजको २ र ३ पांग्रेको आधिकारिक बिक्रेता, केटीएम ब्रान्डको २ पांग्रे बिक्रेता र टीभीएस ब्रान्डका टायर र सर्भो लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता छ। कम्पनी १९९८ देखि बजाजको आधिकारिक बिक्रेता छ।

गोल्छा ग्रुपअन्तर्गतको कम्पनीका काठमाडौंमा बजाजको एउटा शोरुम छ भने केटीएमको २ वटा आफ्नै शोरुम छन्। १५० बढी क्षेत्रीय डिलरसिप छन्। कम्पनीमा गोल्छा परिवारका १९ जना सदस्यको नाममा सेयर छ। बहुमत सेयर शेखर गोल्छाको ५३.८ प्रतिशत रहेको छ। कम्पनीको अध्यक्ष पनि शेखर गोल्छा नै छन्।

प्रकाशित मितिः २०७९ पुष १४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय