भक्तपुरका तीन नगरपालिकामा कार्यपालिका गठन
भक्तपुर, २३ जेठ । स्थानीय तह अन्तर्गत जिल्लामा रहेका चार नगरपालिका मध्ये तीन नगरपालिकाको कार्यपालिका गठन भएको छ । भक्तपुर नगरपालिकामा महिला सदस्यका लागि नेमकिपाको मात्र उम्मेदवारी परेको थियो । भक्तपुर नगरमा गठन भएको नगर कार्यपालिकामा नेमकिपाका तर्फबाट सुनिता प्रजापति, कृष्णलक्ष्मी दुवाल, सरिना द्यौला, रोशनमैयाँ सुवाल र छोरीमैयाँ सुजखू प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, मध्यपुरथिमिको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसंख्यक आठै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा (सांय) श्रेष्ठ, र सुजाता वादे तथा दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएका छन् ।
यसैगरी, सूर्यविनायक नगरकार्यपालिकामा गठन भएको कार्यपालिकामा एमालेका तर्फबाट दलित वा अल्पसंख्यक सदस्यमा हिरामाया शेर्पिनी, राजेन्द्र भुजेल र दीपक विशुङ्खे तथा महिला सदस्यमा सुुभद्रा खत्री, तारा खतिवडा (सापकोटा), अम्बिका न्यौपाने, जुनुमाया तामाङ, तारा बस्नेत (खड्का) निर्वाचित भएका छन् ।
चाँगुनारायण नगरपालिकामा भने जेठ ३१ गते कार्यपालिकाको निर्वाचन हुने छ ।