कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध
एजेन्सी, २३ जेठ । संसारकै सबैभन्दा बढी व्यस्त एयरलाइन्स मध्ये मानिने कतार एयरलाइन्सका विमानहरु अब अरब मुलुकको आकाशमाथि उड्ने छैनन् । अर्को सूचना प्रकाशित नभएसम्म कतारका छिमेकी मुलुकले कतार एयरलाइन्सका उडानमा प्रतिबन्ध लगाएका हुन् । हिजो साउदी अरब, यूएईसहित ६ वटा मुलुकले कतारसँग कुटनीतिक सहित सबै सम्बन्ध विच्छेद गरेपछि त्यसको सोझो प्रभाव कतार एयरलाइन्सलाई परेको छ । यस्तै, कतारका छिमेकी मुलुकका एयरलाइन्सलाई पनि परेको छ । दोहा हुँदै उडान भर्ने इत्तेहाद, गल्फ एयर, इमरेट्स लगायतका एयरलाइन्सहरुको उडान स्थगित भएका छन् ।
यस्तै, बहराइन, इजिप्ट, युएई तथा साउदी अरेबियाले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् । यस्तै यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने बिद्रोही समूह इस्लामिक स्टेट वा अरु कुनै त्यस्ता आतंककारी समूहलाई आफूले समर्थन नगरेको र आफ्नो देशमाथि उठाइएको कदम अनुचित रहेको बताएको छ ।
