विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

भक्तपुर न्यूज

१२ पुष २०७९ ७:५८

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका-२८ कालिका बस्ने ६२ वर्षीय कृतिराम पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकमा ग.१७ प ७३४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर बिकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ स्थित सडकमा से.२ त २३४३ नम्बरको ट्याक्टर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय मंगल धामी सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ पुष १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय