सन् २०२३ को भविष्यवाणी : मासुमा प्रतिबन्ध, सुनको भाउ ३ हजार डलर, बेलायत पुनः इयूमा
काठमाडौं । डेनमार्कको एक इन्भेष्टमेन्ट बैंकले सन् २०२३ का लागि केही आश्चर्यजनक भविष्यवाणी गरेको छ । अनलाइन ट्रेडिङ र लगानीमा विशेषज्ञता राख्ने ‘स्याक्सो बैंक’ ले यसै महिना प्रकासित वार्षिक प्रतिवेदनका अनुसार विश्वव्यापी अर्थतन्त्रहरू ‘युद्ध अर्थतन्त्र (वार इकोनोमि)’ मा परिणत हुने अनुमान गरेको छ । जहाँ देशहरुको सार्वभौम आर्थिक लाभ र आत्मनिर्भरता विश्वव्यापीकरण (ग्लोबलाइजेसन) भन्दा माथि हुनेछ ।
स्याक्सो बैंकले आगामी वर्ष नीति निर्माताहरुका निर्णयहरुले कसरी विश्वव्यापी अर्थतन्त्र र राजनीतिक एजेन्डा दुवैलाई प्रभाव पार्न सक्छ भन्ने आधारमा पूर्वानुमान गरेको हो । स्याक्सो बैंकले गरेको आश्चर्यजनक भविष्यवाणीमध्ये एकमा सुनको भाउ पनि रहेको सीएनबीसीले उल्लेख गरेको छ । बैंकका कमोडिटी रणनीति प्रमुख ओले ह्यान्सेनले २०२३ मा सुनको भाउ प्रतिआउन्स ३ हजार डलर पुग्ने अनुमान गरेका छन् । जुन हालको बजार भाउ प्रतिआउन्स १ हजार ७९७ डलर भन्दा ६७% धेरै हो ।
बढ्दो युद्ध अर्थतन्त्रको मानसिकताका कारण राष्ट्रहरु विदेशी मुद्राको तुलनामा सुनप्रति बढी आकर्षक हुने अनुमान बैंकको रहेको छ । जसले सुनको भाउ बढाउने छ । यता, सन् २०२३ मा बेलायत पुनः युरोपेली युनियनमा फर्किने पक्षमा मतदान गर्ने स्याक्सोको भविष्यवाणी रहेको छ । बेलायतको कन्जर्भेटिभ पार्टीको रेटिङ इतिहासकै कमजोर बन्ने र बेलायत चरम आर्थिक मन्दीमा फस्ने अनुमान रहेको छ । जसले बेलायतलाई पुनः इयूमा फर्किन बाध्य पार्नेछ ।
यस्तै, स्याक्सो बैंकले सन् २०२३ मा मासुमा प्रतिबन्ध लाग्नसक्ने भविष्यवाणी गरेको छ । खाद्य उत्पादनबाट हुने कार्बन उत्सर्जनको ५७% हिस्सा मासुले ओगटेको नेचर जर्नलको एक अनुसन्धानले देखाएको छ । विश्वभरका देशहरुले नेट–जिरो (शून्य कार्बन उत्सर्जन) मा प्रतिबद्धता जनाएका कारण सन् २०२३ मा कम्तीमा एक देशले मासुमा पूर्ण प्रतिबन्ध लगाउने सम्भावना रहेको स्याक्सो बैंकले अनुमान गरेको छ ।
प्रकाशित मितिः २०७९ पुष १० आइतबार
