म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

भक्तपुर न्यूज

८ पुष २०७९ ९:५३

म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

काठमाडौं । म्यानमारमा ‘आधिकारिक कागजातविना’ यात्रा गरेको आरोपमा बालबालिकासहित एक सय १० भन्दा बढी रोहिंग्या पक्राउ परेका छन्।

म्यानमारको ग्लोबल न्यु लाइटका अनुसार दक्षिणपूर्वी सहर बोगालेमा एक दर्जन बालबालिकासहित एक सय १२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।

उक्त समूहलाई ‘बंगाली’ भनिएको र प्रतिवेदनमा पक्राउ भएको मिति उल्लेख गरिएको छैन, तर स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै डिसेम्बर २० को बिहान उक्त घटना भएको बताएका छन्।

बंगलादेशबाट आएका आप्रवासीका रूपमा व्यापक रूपमा हेरिने मुस्लिम अल्पसंख्यक समूहका सदस्यहरूलाई स्वास्थ्य सेवा र शिक्षाको पहुँचसहित नागरिकताबाट वञ्चित गरिएको छ, साथै उनीहरूलाई अक्सर यात्रा गर्न अनुमति चाहिन्छ।

ग्लोबल न्यु लाइटका अनुसार स्थानीय अदालतले समूहका ३५ जनालाई विनाकागजात यात्रा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ भने १८ वर्षमुनिका १३ जनालाई २० वर्ष नपुगुञ्जेल ‘ट्रेनिङ इन्स्टिच्युट’मा राखिनेछ।हरेक वर्ष हजारौँ रोहिंग्याले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न जोखिमपूर्ण यात्रा गर्छन्।

सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीका कारण हत्या, बलात्कार र आगजनीका पीडाका साथ लाखौँ रोहिंग्या छिमेकी देश बंगलादेशमा भागेका थिए। म्यानमारले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ।

गत डिसेम्बर ५ मा व्यापारिक केन्द्र यांगुननजिकैको हलेगु सहरनजिकै सडक किनारमा १३ रोहिंग्या मृत अवस्थामा फेला परेका थिए । यस घटनालाई लिएर म्यानमार प्रहरीले मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको जनाएको छ।

रोहिंग्या स्रोत र स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक मानव तस्कर गिरोहले प्रयोग गर्ने एक तेल ट्यांकरभित्र यात्रा गरिरहेको समय मृत्यु भएको अनुमान गरिएको थियो।

प्रकाशित मितिः २०७९ पुष ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय