कतार विश्वकपमा फ्रान्स बन्यो सर्वाधिक गोल गर्ने टिम

भक्तपुर न्यूज

४ पुष २०७९ ८:३०

कतार विश्वकपमा फ्रान्स बन्यो सर्वाधिक गोल गर्ने टिम

काठमाडौं । २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा हालसम्मकै सबैभन्दा बढी गोल भएको छ । आइतबार राति कतारको लुसेल स्टेडियममा भएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलमा ६ गोल भएसँगै विश्वकप २०२२ मा सर्वाधिक १७२ गोल भएको हो ।

यसपटक हरेक खेलमा औसतमा २.६९ गोल भयो । यसअघि सन् १९९८ तथा २०१४ मा भएको विश्वकपमा समान १ सय ७१ गोल भएको थियो । यसपटकको विश्वकपमा फ्रान्सले सबैभन्दा बढी १६ गोल गर्‍यो ।

उपाधि जितेको अर्जेन्टिनाले ७ खेलमा कुल १५ गोल गर्न सफल भयो । यस्तै, सेमिफाइनल पुगेको इंग्ल्याण्डले ५ खेलबाट १३ गोल गर्‍यो । पोर्चुगलले ५ खेलबाट १२ गोल तथा नेदरल्याण्डले १० गोल गर्‍यो ।

त्यस्तै, ३ देशले समान २ गोल, ४ वटा देशले ४ गोल गरे । ६ वटा देशले ५ गोल, दुई देशले ६, दुई देशले ८ र स्पेनले ९ गोल गरे । बेल्जियम, डेनमार्क, कतार, ट्यूनिसिया र वेल्सले एक/एक गरे ।

कतार विश्वकपमा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको थियो । कतार विश्वकपमा समूह ‘ए’ बाट १५, ‘बी’ बाट १६, ‘सी’ बाट १२, ‘डी’ बाट ११, ‘इ’ बाट सबैभन्दा धेरै २२, ‘एफ’ बाट ११, ‘जी’ बाट १६ र समूह ‘एच’ बाट १७ गोल भयो । यसपालि २४ मध्ये ९ खेल बराबरीमा सकिए ।

२२ औं संस्करणको विश्वकप पेनाल्टीमा फ्रान्सलाई ४–२ ले हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । उसले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

फ्रान्स भने तेस्रोपटक उपाधि जित्न चुक्यो । उसले सन् १९९८ र २०१८ मा विश्वकप उपाधि हात पारेको थियो ।

प्रकाशित मितिः २०७९ पुष ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय