बञ्चरो प्रहार गरि पत्नीको हत्या गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर न्यूज

२६ मंसिर २०७९ ९:२६

बञ्चरो प्रहार गरि पत्नीको हत्या गरेको आरोपमा एक जना पक्राउ

जनकपुर ।  धनुषाको बटेश्वरस्थित आइतबार राति बञ्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बञ्चरो प्रहारबाट सख्त घाइते बनेकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

बटेश्वर गाउँपालिका–५ शान्तिपुरका वीरेन्द्र यादव पत्नी २७ वर्षीया रितादेवी यादवको हत्याको आरोपमा पक्राउ परेका हुन् । बन्चरो प्रहारपछि घाइते भएकी रितालाई उपचारका लागि श्रीमान वीरेन्द्रले नै जनकपुरस्थित काव्या अस्पतालमा पुर्‍याएका थिए ।

प्रहरी अनुसन्धानका आधारमा श्रीमान वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । डीएसपी क्षेत्रीका अनुसार घटनालाई अन्यत्र मोड्न वीरेन्द्रले अज्ञात समूहले बञ्चरो प्रहार गरेको र उपचारका लागि श्रीमतिलाई अस्पताल पुर्‍याएको बताएका थिए ।

शंका लागेर सोधपुछ तथा अनुसन्धान थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेकफ डीएसपी क्षेत्रीले बताए । उनले प्रहार गरेको बञ्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको पनि प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । उक्त बञ्चरो प्रहरीले बरामद गरेको छ ।

वीरेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आइतबार राति ११ बजे घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । वीरेन्द्र भने घटनाको बेला आफू अर्को कोठामा सुतेको प्रहरीलाई बयान दिएका थिए । उनका ४ वर्षीय र ६ वर्षीय दुई छोरा छन् । स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतिलाई पहिले पनि कुटपिट तथा यातना दिने गरेका थिए ।

प्रकाशित मितिः २०७९ मंसिर २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय