पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

भक्तपुर न्यूज

२५ मंसिर २०७९ ११:४३

पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं । विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्सी टेबलसहितका सामाग्री जलेको सञ्चालक विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तामा समेत क्षति पुगेको छ । घरधनी भण्डारीले माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको बताए । उनले बरण्डामा सुकाएको कपडासमेत जलेको बताएका छन् ।

आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति भएको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् ।

खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।

राती वर्ल्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेका थिए । उनीहरूले वरपरकालाई सुचित गरि सुरक्षित स्थानमा सार्नुका साथै पानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मितिः २०७९ मंसिर २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय