विश्वकपमा सनसनी मच्चाइरहेको मोरक्कोले कसरी पाइरहेछ सफलता?
काठमाडौं । सन् २०१८ को रसिया विश्वकपमा मोरक्को फुटबलको स्थिति नाजुक थियो। स्पेन, पोर्चुगल र इरानको समूहमा रहेको मोरक्कोले त्यतिबेला दुई खेलमा हार बेहोर्यो भने एक खेल बराबरी खेल्दै समूह ‘बी’ को पुछारमा रहेर घर फर्कियो।
तर चार वर्षपछि परिस्थिति उल्टिएको छ। रुसमा मोरक्कोलाई हराएका स्पेन र पोर्चुगलजस्ता उपाधि दाबेदार टिमलाई घर पठाउँदै मोरक्कोले इतिहास मात्रै रचेको छैन, अफ्रिकन महादेशबाट सेमिफाइनल तय गर्ने पहिलो टिम समेत बनेको छ।
अफ्रिकन फुटबलका लागि प्रसिद्ध अनुहार हर्बे रेनार्डको प्रशिक्षकमा सन् १९९८ पछि पहिलो पटक रुसमा विश्वकप खेलेको मोरक्कोका लागि सो विश्वकप उत्साहजनक भएको थिएन।
रुस विश्वकपमा मोरक्कोका कुनै खेलाडीले पनि आफ्नो प्रतिभामा थप चमक दिन सकेनन्। तर पनि त्यहाँ एक जना थिए, जो मोरक्को देशको प्रतिनिधित्व गर्न बिन्ती गरिरहेका थियो। ती व्यक्ति थिए, सन् २०१० ताकाका एक भेट्रान खेलाडी मुनिर अल हद्दादी। उनी स्पेन र बार्सिलोनाबाट चम्किरहेका थिए।
मुनिर स्पेनमा जन्मिए पनि बाबुको पुर्ख्यौली थलो मारेक्को थियो। बाबु मोरक्कन मूल निवासी थिए। उनीहरु सानै उमेरमा स्पेन बसाइ आएका थिए। तर उनले आफ्नो बाबुको मूल थलो उत्तर अमेरिकी देश मोरक्को जाने इच्छा देखाइरहेका थिए।
स्पेनको सबै उमेर समूहबाट खेलिसकेका थिए, मुनिरले। सन् २०१४ मा स्पेनको सिनियर टिमबाट समेत डेब्यु गरेका थिए। प्रतिभावान खेलाडी मुनिरले मोरक्को फर्कने इच्छा देखाएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नियम परिवर्तन गर्न भन्दै मोरक्कोले निवेदन दियो।
रोयल मोरक्कोन फुटबल फेडेरेसन (एफएमआरएफ) र मुनिरको तर्फबाट दिइएको निवेदनमा फिफा सकारात्मक देखिएन। त्यसपछि उनीहरु कोर्ट अफ एर्बिटेसन अफ स्पोर्टस्मा पुगेका थिए। त्यसपछि फिफाको नियमलाई लिएर बहस सुरु भयो। सन् २०१८ मे १४ मा उनीहरुको अनुरोधलाई अदालतले समेत अस्वीकार गरिदियो।
सन् २०२० अक्टोबर १ मा भने फिफाले नियम परिवर्तन गर्यो। २१ वर्षभन्दा कम उमेरमा राष्ट्रिय टिमबाट तीन खेल खेलिसकेको खेलाडीले चाहेमा आफ्नो राष्ट्रिय टोली परिर्वतन गरी खेल्न सक्ने नियम बनायो। उक्त नियम अनुसार मुनिर मोरक्कोबाट खेल्न योग्य भएनन्। पछि उक्त नियम हटाएर खेलाडीले चाहेको अवस्थामा राष्ट्रिय टोली परिवर्तन गरेर खेल्न सक्ने भन्दै फिफाले सन् २०२१ जनवरी २८ मा निर्णय गरेपछि मुनिरका लागि मोरक्को टिमको ढोका खुल्यो।
मुनिरले राष्ट्रिय टिमका लागि सोचअनुसार गर्न नसके पनि मोरक्को फुटबलको आजको प्रगतिमा उनको भूमिका छ। उनकै नजिरमा टेकेर थुप्रै खेलाडीहरु मोरक्को पुगेर अहिले चम्किरहेका छन्। जारी विश्वकपको २६ सदस्यीय टोलीमा मोरक्को बाहेकको देशमा जन्मिएर मोरक्कोबाट खेल्ने १४ जना खेलाडी छन्।
त्यही ‘फिलसोफी’मा टेकेर अहिले मोरक्कोले प्रगति गरिरहेको छ। कठिन समूहमा रहेको मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरिसककेको छ। युरोपियन हेबिवेट क्रोएसिया, बेल्जियमजस्ता टिमको समूहमा मोरक्को परेको थियो। फिफा बरियतामा २ नम्बरमा रहेको बेल्जियमलाई मोरक्कोले २–० ले हराएको थियो भने क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।
मोरक्कोसँग हार बेहोरेको भन्दै ब्रसेल्समा तोडफोड समेत भयो। मोरक्कोसँग पराजित हुनु बेल्जियमका लागि अप्रत्याशित मानिएको थियो। तर अहिलेसम्म मोरक्कोले गरिरहेको प्रदर्शनबाट उनीहरु चकित हुनुपर्ने अवस्था देखिएन।
प्रिक्वाटर फाइनलमा विश्वविजेता स्पेनलाई ‘टाइब्रेकर’मा हराएर मोरक्कोले अर्को सनसनी मच्चायो। गए राति भएको क्वाटरफाइनलको खेलमा उपाधि दाबेदार मानिएको क्रिस्टियानो रोनाल्डोको टिमलाई १–० ले हराउँदै मोरक्कोले चकित पार्यो। सेमिफाइनलसम्मको यात्रा तय गर्दा मोरक्कोले हालसम्म १ गोल मात्रै खाएको छ, क्यानडासँगको खेलमा। त्यो पनि ‘सुसाइड’ गोल हो।
मोरक्कोन खेलाडीहरुको शक्तिशाली प्रदर्शनले विपक्षीलाई अहिले असिनपसिन बनाएको छ। अन्य देशमा जन्मिएर आफ्नो पुर्खाको थलो भन्दै मोरक्को फर्केका युवा खेलाडीहरुको मजबुत टिम ‘सेटअप’ सहितको प्रदर्शनले सबैलाई चकित बनाएको छ।
मोरक्कोका खेलाडीमध्ये मुख्य भूमिकामा देखिएका सबैजसो खेलाडी अन्य देशमा जन्मिएरपछि मोरक्को पुगेका हुन्। मुख्य प्रशिक्षक वालिद रेग्रागुई स्वयं पेरिसमा जन्मिएका थिए। पछि उनी मोरक्को नेसनल टिमको कप्तान समेत भएका थिए।
मोरक्कोबाट मात्रै होइन जारी विश्वकपमा एउटा देशमा जन्मिएर अर्को देशबाट खेल्ने खेलाडीको सूची १०० छ। तर, उनीहरुमा भन्दा मोरक्कोले केही भिन्न गरिरहेको छ। जसको सफलताको अहिले चर्चा भइरहेको छ। मोरक्को टिमको यो सफलतामा मुनिरको नजिर एक कारक बनेको विश्लेषण गरिन्छ।
१४ खेलाडीनै जन्मिएका थिए अन्य देशमा
विश्वकप खेल्नका लागि छनौट भएका २६ सदस्यीय टोलीले मध्ये मोरक्कोमै जन्मिएका जम्मा १२ खेलाडी मात्रै अहिलेको राष्ट्रिय टिममा छन् । बाँकी १४ खेलाडी मोरक्को बाहेक अन्य देशमा जन्मिएर अहिले विश्वकपमा तहल्का मच्चाइरहेका छन् । स्पेन, क्यानडा, फ्रान्स, नेदरल्याण्ड्स, बेल्जियम र इटालीमा जन्मिएका उनीहरु मोरक्को पुगेर अहिले मोरक्कोको फुटबलमा क्रान्ति गरिरहेका छन् ।
अन्य देशमा जन्मिएर मोरक्को पुगेका हरेक खेलाडीको पछाडि आ–आफ्नै कथाहरु छन्–उनीहरु किन र कसरी मोरक्को पुगे ।
जारी विश्वकपमा एकमात्र गोल खाएका गोलरक्षक यासिने बोनु क्यानडाको मोन्टोरियलमा सन् १९९१ मा जन्मिएका थिए । ३ वर्षको उमेरमा उनी मोरक्कोको पश्चिममा रहेको व्यवसायिक शहर कासाब्लान्का पुगेका थिए । पछि उनी मोरक्को कै नागरिक बने ।
विश्वकपमा यासिनेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्यानडाविरुद्धको खेलमा उनले १ गोल खाएका थिए । त्यो पनि सुसाइड गोल थियो । मोरक्कोका लागि उनले ४९ क्याप खेलिसकेका छन् ।
मोरक्कोको डिफेन्स लाइनका खम्बा असरफ हाकिम स्पेनबाट मारेक्को पुगेका हुन् । पीएसजी क्लबबाट व्यवसायिक फुटबल खेल्ने हाकिमी स्पेनको रियल मड्रिडमा जन्मिएका थिए । उनको गति तिव्र छ ।
स्पेनको लस ब्लान्कोस स्काउट्सले आयोजना गरेको प्रतियोगितामा हाकिमीको प्रतिभादेखेपछि रियल मड्रिड क्लबले उनलाई लगेको थियो । त्यतिबेला उनी जम्माजम्मी ८ वर्षको मात्रै थिए । स्पेनको उमेर समूहको खेलमा हाकिमीलाई बोलाइयो तर बाबुआमाका कारण मोरक्कोन र अरबी संस्कृतिसँग उनको निष्ठा निकै नजिक थियो । जसकारण आफू अहिले मोरक्कोको टिममा रहेको हाकिमीले बताएका छन् ।
कप्तान रोमन साइस फ्रान्सबाट मोरक्को अर्का खेलाडी पुगेका हुन् । फ्रान्सको बोर्ग–डे पिगमा सन् १९९० मा उनको जन्म भएको थियो । उनले फा्रन्सका लागि ७० क्याप खेलिसकेका छन् । मोरक्कोको सेमिफाइनलसम्मको यात्रामा कप्तान रोमनको मुख्य भूमिका छ ।
सन् १९९३ मा नेदरल्याण्डस्को ड्रोनटिनमा जन्मिएका हाकिम जियाच मोरक्को मुख्य फरवार्ड हन् । डिफेन्स लाइनसम्म पुगेर बल क्लियर गर्ने जियाचको क्षमताले विपक्षी स्ट्राइकरलाई विश्वकपमा तनाव दिइरहेको छ ।
उनले नेदरल्याण्ड्सको यु–२० र यु–२१ बाट गरी ६ क्याप खेल समेत खेलिसकेका थिए । मोरक्कोबाट भने उनले ४७ क्याप खेलेका छन् ।
नौसर मोजरोई सन् १९९७ मा नेदरल्याण्डको लिडरड्रोपमा जन्मिएका थिए । जर्मन क्लब बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी सन् २०१८ मा डच क्लब आयाक्सबाट बार्यन पुगेका हुन् । डिफेन्डरको भूमिकामा खेल्ने उनले मोरक्कोको राष्ट्रिय टिमबाट १९ क्याप खेलेका छन् ।
सोफ्यान अम्रभाट नेदरल्याण्ड्बाटै मोरक्को पुगेका खेलाडी हुन्। नेदरल्याण्ड्समा सन् १९९६ मा जन्मिएका उनले नदेरल्याण्ड्सको यु–१५ टिमबाट ४ क्याप समेत खेलेका थिए । मोरक्को मिडफिल्डका मुख्य हतियार उनी अहिले फ्लोन्टिना क्लबबाट व्यवासयिक फुटबल खेल्छन् ।
मोरक्कोका अर्का अट्याकिङ मिडफिल्डर इलियास चेयर बेल्जियममा जन्मिएर पछि मोरक्को पुगेका हुन् । २५वर्षीय यी युवा खेलाडीले मोरक्कोबाट १० क्याप खेलेका छन् ।
मिडफिल्डर सलिम अमल्लाह सन् १९९६ मा बेल्जियममा जन्मिएका थिए । अहिले उनी मोरक्कोबाट विश्वकप खेलिरहेका छन् ।
बिलाल एल खानोस जम्माजम्मी १८ वर्षका मात्रै भए । बेल्जियममा जन्मिएका उनले बेल्जियमको यु–१५, यु–१६ र यु–१८ समूहका गरी १३ खेल खेलिसकेका छन् । मोरक्कोको २६ सदस्यीय टोलीमा रहेका उनले भने अहिलेसम्म डेब्यु गर्ने मौका पाएका छैनन् ।
मुनिर मोहम्मदी स्पेनबाट मोरक्को पुगेका खेलाडी हुन् । स्पेनको कुएटामा सन् १९८९ मा जन्मिएका मोहम्मदीले मोरक्कोबाट ५८ क्याप खेलेका छन् । जारी विश्वकपमा पनि उनले राम्रो प्रर्दशन गरिहरेका छन् ।
इंग्लिस क्लब बर्नलीमा आबद्ध २२ वर्षीय युवा खेलाडी अनास जरौरी मोरक्कोबाट जम्माजम्मी १ खेल मात्रै खेलेका छन् । बेल्जियमको यु–१७, यु–१८, यु–२१ मा गरी १४ क्याप उनले खेलेका छन् ।
नेदरल्याड्समा जन्मिएका जकारिया अबुखलले नेदरल्याड्सको यु–१७, यु–१८, यु–१९ र यु–२० मा गरी ३१ क्याप खेलेका छन् । जम्मा २२ वर्षका यी युवा खेलाडीले मोरक्कोका लागि १४ क्याप खेलेका छन् ।
सोफियान बाउफल मोरक्को सुरुवाती ११ का प्रतिभाशाली खेलाडी हुन् । फ्रन्टलाइनबाट खेल्ने उनी फ्रान्समा जन्मिएका थिए । २९ वर्षका यी खेलाडीले मोरक्कोको राष्ट्रिय टिमबाट ३६ खेल खेलिसकेका छन् । वालिद चेदिरा इटालीबाट मोरक्को पुगेका हुन् । मोरक्कोबाट उनले ३ खेल खेलेका छन् ।
वालिद रेग्रागुई फ्याक्टर
कतार विश्वकपमा तीन महिनाअघि मात्रै वाहिद हलिलहोजिकलाई रोयल मोरक्को फुटबल फेडेरसनले बखास्र्त गरेपछि विश्वकपमा मोरक्कोको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गरिएको थियो । हलिलहोजिकको उत्तराधिकारी बन्नेलाई अवसर चुनौती दुबै थिए ।
खुइले टाउकाको कारण उनलाई मायापूर्वक ‘एभोकाडो हेड’ निक नामबाट चिनिएका रेग्रागुईलाई मोरक्कोको प्रशिक्षकको जिम्मेवारी दिइयो । जो फ्रान्समा जन्मिएर मोरक्को फुटबलको कप्तानसम्म भएका पूर्व डिफेन्डर थिए । उनले मोरक्कोबाट ४५ क्याप खेलेका थिए । जिम्मेवारी सम्हालेदेखि रेग्रागुईले सफलता भन्दा हरु केही देखेनन् । उनले मोरक्को क्लब एफयुएसलाई लिग जिताएका थिए ।
मोरक्को फर्कनुभन्दा अघि आफ्नै प्रशिक्षत्वमा कतारको क्लब अल दुहेललाई लिग जिताएका थिए । मोरक्को आएपछि वैदाद कैसाब्लांकालाई पनि लिग जिताए । प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि नै सफलतामात्रै हात पारेका उनै रेग्रागुईले मोरक्को राष्ट्रिय टिमको जिम्मेवारी लेलान् कि के गर्र्लान् भनेर निकै चासो का साथ हेरिएको थियो । धेरै मोरक्कनहरुले विश्वकपपछि रेग्रागुईले मोरक्को टिमको जिम्मेवारी लिने आँकलन गरेका थिए । तर जब विश्वकपको मुखमा रेग्रागुईलाई प्रशिक्षक तोकियो मोरक्कनहरु दुखी हुनुपर्ने स्थिती आएन ।
अफ्रिकन फुटबलमा अहिले रेग्रागुईलाई जोसे माउरीन्होसँग तुलना गर्न थालिएको छ । माउरीन्होको जस्तो उत्कृष्ट म्यानेजमेन्ट र अनुशासनमा खेलाडीहरुलाई रेग्रागुइले मैदानमा उतारेर सफलता दिलाएको भन्दै तुलना गरिएको छ ।
स्पेनसँगको नाटकिय जितपछि रेग्रागुईको एउटा भिडिओ भाइरल नै बनेको थियो । भिडकोबीचमा उभिएकी आमा भएको ठाउँमा दौडिँदै गएर रेग्रागुईले अंकमाल र किस गरेका थिए । विभिन्न ६ देशमा जन्मिएका खेलाडीलाई एकीकृत बनाएर ढुक्कसँग खेलाउन सक्ने रेग्रागुईको अहिले तारिफ भइरहेको छ ।
विश्वकपमा खेलाडीहरुलाई भावानात्मक रुपमा नजिक बनाउन निकै गाह्रो हुन्छ । तर रेग्रागुईले खेलाडीका परिवारहरुलाई समेत सँगै राखेर प्रतिक्रिया लिने र हौसला प्रदान गर्ने मौका दिइरहेका छन् ।
त्यसको एउटा उदाहरण अहिले भाइरल बनेको असरफ हाकिमी उनको आमाको फोटो हो । जहाँ खेल सकिएपछि हाकिमीलाई आमाले चुम्बन गरेकी थिइन् ।
रेग्रागुई आफैं आफ्नी आमा फतिमालाई भेटेर हौसला लिने गर्छन् । फतिमाले आफ्ना छोरा रेग्रागुईलाई खेलाडी र प्रशिक्षकको रुपमा पहिलो पटक प्रत्यक्ष हेरको भनेको कतार विश्वकपमै हो ।
जब महासंघले गम्भीर भएर सोच्यो
मोरक्को फुटबलको सफलता पछाडि रोयल मोरक्को फुटबल फेडेरेन (एफएमआरएफ) को पनि मुख्य भूमिका छ । दशकौंको प्रयासपछि राजा मोहमम्द छैटौंले फुटबल संरचनालाई परिर्वतन गर्ने निर्णय गरेका थिए ।
सन् २००९ मा मोहम्मद छैटौंले फुटबल एकेडमी खोले । जुन एकेडेमीबाट हिजो पोर्चुगलविरुद्ध गोल गरेका योसुफ इन नेसिरी, नायफ एग्युर्डजस्ता खेलाडीले उत्पादन भए । सँगै मोरक्कोन मुन निवासीहरु पत्ता लगाउने फिर्ता गराउनेसम्मका काम एफएमआरएफले ग¥यो ।
पुरुष फुटबलमा मात्रै होइन महिला फुटबलमा समेत राजा मोहम्मद छैटौंले यही फर्मुला प्रयोग गरे । फुटबल स्कुल, क्लब निमार्ण गर्नेदेखि लिगहरुका स्ट्रकचरमा समेत केही परिर्वतन गरियो । मोरक्कोमात्रै यस्तो एक मात्र देश हो जहाँ एफएमआरएफकै लगानीमा दुई वटा महिला फुटबलका दुई वटा संरचना छन् ।
राजा छैटौंले राजधानी रावतमा ठूलो फुटबल तालिम कम्प्लेक्स बनाएका छन् । जहाँ पाँच तोरे होटलहरु समेत छन् । फिफा स्ट्याण्र्डडका आठ वटा मैदान छन् । एउटा मैदानमा जलवायु यान्त्रिक (क्लाइमेट कन्ट्रोल) छ । जहाँ स्वास्थ्य उपचारको समेत व्यवस्था मिलाइएको छ । पछिल्लो दशक गरिएको उक्त लगानीको प्रतिफल कतार विश्वकपमा अहिले मोरक्कोले लिइरहेको छ ।
(स्पोर्टिङन्यूज, सिएनएन, द गार्डियन, बिबिसीमा आधारित)
प्रकाशित मितिः २०७९ मंसिर २५ आइतबार
