साताको दोस्रो दिन नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार बढेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको हो।
यस दिन नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।
नेप्सेसँग यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको २४ लाख ५२ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.१३ प्रतिशत बढेको छ।
प्रकाशित मितिः २०७९ कार्तिक २८ सोमबार
