दराजले किन मनाउँछ ११.११ सेल ?

भक्तपुर न्यूज

२५ कार्तिक २०७९ ८:१६

दराजले किन मनाउँछ ११.११ सेल ?

काठमाडौं । अनलाइन शपिङको दुनियाँमा नोभेम्बेर ११ अथवा ११.११ को दिन एउटा उत्सवको रुपमा मानिन्छ । नोभेम्बर ११ का दिनलाई ११.११ सेल्स डे भनेर पनि बुझ्ने गरिन्छ, जुन दिनमा २४ घण्टासम्म विश्वका ठूला-ठूला अनलाइन शपिङ प्लेटफर्ममा भारी छुटमा विभिन्न सामान खरिद गर्न सकिन्छ ।

विदेशी बजारमा त अझ विशेष सामान भारी छुटमा खरिद गर्नका लागि उपभोक्ता यो दिन कुरेर बसेका हुन्छन् । पछिल्ला केही वर्षमा नेपाली उपभोक्तामाझ पनि अनलाइन शपिङको अभ्यास बढेको छ ।

नेपालमा पनि अनलाइन शपिङ प्लेटफर्म दराजले आज ११.११ सेल्स डे मनाउँदै छ, जसअन्तर्गत २४ घण्टासम्मका लागि भारी छुटमा सामान बिक्री हुने कम्पनीले जनाएकाे छ ।

दराज ११.११ काे मुख्य आकर्षणमा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट, रु. ११,१११ सम्मको मेगा भाउचर, प्रि-पेमेन्टमा २० प्रतिशत अधिकतम रु. ३००० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ ओटा ६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ ।

११.११: सिङ्गल्स डे (Singles’ Day)

११.११ को सबैभन्दा रोचक पक्ष भनेको यही अङ्क नै हो । वास्तवमा ११.११ सेल्स डेभन्दा अगाडि चीनमा सिङ्गल्स डे (अविवाहित अथवा कुनै प्रेम सम्बन्धमा नभएका व्यक्तिको दिन) को रुपमा सुरुवात भएको थियो ।

चिनियाँ भाषामा ११.११ ले वेयर स्टिक, अर्थात खाली लट्ठीलाई संकेत गर्छ, जुन चीनमा अविवाहित पुरुषलाई गिज्याउन प्रयोग गरिन्छ । त्यसैगरी चारवटा १ अङ्कको अर्थ चारजना अविवाहित व्यक्तिको रुपमा पनि चिनिन्छ ।

सन् १९९३ मा नानजिङ विश्वविद्यालयका विद्यार्थीले अविवाहितहरूको दिन भनेर नोभेम्बर ११ लाई सिङ्गल्स डे भनेर मनाउन सुरु गरेका हुन् । सो वर्षदेखि चीनमा अविवाहितहरूले यो दिनमा आफ्ना लागि नयाँ सामान खरिद गर्ने र आफैंलाई उपहार दिने गर्छन् ।

आजको दिनमा आउँदासम्म चीनबाट सुरु भएको यो सिङ्गल्स डे विश्वभर मनाउने गरिन्छ । ११.११: सेल्स डे नोभेम्बर ११ का दिन चीनमा सिंगल्स डे मनाउन सुरु भएपछि बजारमा यही दिनका लागि भनेर विशेष सामान खरिद बिक्री हुन थाल्याे ।

यही कुराको फाइदा उठाउँदै अनलाइन शपिङ प्लेटफर्म अलिबाबाले पहिलो पटक सन् २००९ मा ११.११ लाई सामानहरू खरिद गर्ने पर्वकै रुपमा सुरुवात गर्‍यो ।वर्षमा एकचोटी नोभेम्बर ११ को मध्यरातदेखि २४ घण्टासम्म अनलाइनमा भारी छुट दिएर सामान बिक्री गर्न थालियो ।

बिक्रेताका पनि धेरै सामान बिक्री हुने र उपभोक्ताले पनि हरेक सामान छुटमा पाउन थालेपछि यो दिनप्रति मानिसहरूको आकर्षण बढ्दै गयो । यो अभ्यास यति धेरै चर्चित भयो कि, आज विश्वभरमा ११.११ सेल्स डे मनाइन्छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय