सिड्नीको तारोन्गा चिडियाखानाका पाँच सिंह खोरबाट निस्किएपछि…

भक्तपुर न्यूज

१६ कार्तिक २०७९ १०:३८

सिड्नीको तारोन्गा चिडियाखानाका पाँच सिंह खोरबाट निस्किएपछि…

काठमाडौं । सिड्नीको तारोन्गा चिडियाखानाका पाँच सिंह खोरबाट निस्किएको पाइएपछि चिडियाखानामा गएका आगन्तुकलाई सुरक्षित स्थानमा पुर्‍याएको छ । बुधबार बिहान साढे ६ बजे चिडियाखाना अधिकारीले एटो नामको एक भाले सिंह र चार डमरु(सिंहको बच्चा) उनीहरुलाई राखिने खोरबाट निस्केर डुलिरहेको पाएका थिए ।

त्यसलगतै ‘रोर एण्ड स्नोर’ नामक सुरक्षा कार्यक्रम सक्रिय गरिएको चिडियाखाना अधिकारीले बताएका छन् । त्यस अन्तरगत साइरन बजाएर त्यस समय चिडियाघरभित्र रहेका सम्पूर्ण आगन्तुक तथा कर्मचारीलाई सुरक्षित क्षेत्रमा सारिएको थियो ।

सिड्नी हार्बरको उत्तरी किनारमा रहेको चिडियाखानाका सबै कर्मचारी तथा पाहुना सुरक्षित स्थानमा नपुगेसम्म साइरन बजेको थियो ।
घटनाको समय चिडियाखानामै रहेका म्याग्नस पेरी र उनका परिवार त्यो समय टेन्ट क्षेत्रमा थिए । उनका अनुसार साइरन बजेसँगै उनका परिवार टेन्ट छाडेर सुरक्षित स्थानमा गएका थिए ।

चिडियाखाना प्रशासनले सिंहहरू निस्केको १० मिनेटमै आपतकालित सुरक्षा प्रतिक्रिया लागू गरिएको बताएको छ ।
‘यो गम्भीर घटना हो । सिंहहरू कसरी खोरबाट बाहिर निस्किए भनेर समीक्षा भइरहेको छ,’ चिडियाखानाका कार्यकारी निर्देशक साइमन डफीले स्थानीय मिडियालाई भने ।

घटनामा कुनै मानिस वा जनावरलाई कुनै चोटपटक भने लाग्न पाएन । स्थलगत अनुगमनपछि चिडियाखाना बुधबार नै सर्वसाधरणको लागि खोलिएको थियो ।

प्रकाशित मितिः २०७९ कार्तिक १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय