झोलुंगे पुलमा चढी सेल्फी खिच्ने क्रममा भत्किँदा १३२ जनाकाे मृत्यु
काठमाडौं । भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहेको ऐतिहासिक झोलुंगे पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ।
क्षमताभन्दा पाँच गुणा बढी मानिस झोलुंगे पुलमा चढी सेल्फी खिच्ने क्रममा पुल भत्किएको हो।
प्रत्यक्षदर्शीका अनुसार पुलको क्षमता १०० जनामात्र रहे पनि दुर्घटनाको समयमा करिब ५ सय जना मानिस उपस्थित थिए।
प्रहरी महानिर्देशक आशिष भाटियाका अनुसार करिब १७७ जनालाई बचाइएको छ। उनका अनुसार उद्दार कार्य जारी नै छ।
दुर्घटनाको छानबिन गर्न प्रदेश सरकारले ५ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ ।
राज्यका गृहमन्त्री हर्ष संघवीले पुल ६ महिनादेखि बन्द रहेको बताए। मर्मतपछि यो पुल अक्टोबर २६ मा पुनस् खोलिएको थियो।
झोलुंगे पुल १४० वर्षभन्दा पुरानो हो। पुलको लम्बाइ लगभग ७६५ फिट छ। पुलको उद्घाटन सन् १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७९ कार्तिक १४ सोमबार
