काठमाडौं ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सम्बन्धमा प्रधानमन्त्री शाहबाज शरीफले नयाँ खुलासा गरेका छन् । उनले सेना प्रमुखको नियुक्तिका लागि आफूले एक महिनाअघि इमरानसँग सम्पर्क गरेको दाबी गरेका छन् । उनका अनुसार यो सम्पर्क दुवै नेताका साझा साथीमार्फत भएको हो ।
प्रधानमन्त्री शरीफले इमरान खानले आफूसँग सम्पर्क गरी सेना प्रमुखको पदका लागि तीन जनाको नाम पेस गरेर तीमध्ये एकलाई छनोट गर्ने प्रस्ताव गरेको दाबी गरेका छन् । तर, शाहबाज शरीफले आफूले इमरानसँग बस्न अस्वीकार गरेको दाबी गरेका छन् ।
शरीफले शनिबार लाहोरमा पत्रकारहरूसँग कुरा गर्दै यी जानकारी दिए। उनले इमरान खानले सेना प्रमुखको नियुक्ति र निर्वाचन सञ्चालन जस्ता दुईवटा विषयमा आफूसँग वार्ता गर्न चाहेको बताए ।
‘तर मैले उहाँलाई लोकतन्त्र र अर्थतन्त्रको बडापत्रअनुसार मात्रै वार्ता गर्न प्रस्ताव गरेको छु,’ उनले भने । उनले भने, ‘सेना प्रमुख नियुक्ति प्रधानमन्त्रीको संवैधानिक अधिकार हो र म आफ्नो हिसाबले यो निर्णय लिन्छु भनी सन्देश पठाएको छु ।
सन् २०१४ मा इमरान खान धर्नामा बसेका कारण चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण संकटमा परेको र अब खान फेरि आन्दोलनमा उत्रिएपछि आफू चीन जान लागेको शाहबाज सरिफले आरोप लगाएका छन् ।
प्रकाशित मितिः २०७९ कार्तिक १३ आइतबार
Comments