नयाँ आ.व.को नीति तथा कार्यक्रम संसदबाट पारित
काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । आज बसेको संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।
निर्वाचन आचार संहिताका कारण पुरानै आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित भएको बताए । मधेस केन्द्रित दललाई पनि विश्वासमा लिने गरी काम गरेकाले चुनावमा कुनै अन्यौल नरहेको उनको भनाई छ ।
उनले भने, मैले देश र नागरिकलाई सोचेर काम गरेँ । आफ्नो र पार्टीको स्थिती नसोचेकाले चुनाव भयो । आफ्नो प्रधानमन्त्री कालको १० महिनामा भएको कामको मूल्यांकन इतिहासले गर्ने बताए । आफ्नो नेतृत्वमा चुनाव भएको र देशले निकास पाएकाले विपक्षीले पनि आफूलाई धन्यवाद दिनु पर्ने उनले बताए । आफूले एमालेलाई जित्ने अवसर बनाइदिएको दाबी गरे । देशको आर्थिक अवस्था सुधार भएको र दुवै छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध रहेको पनि उनले बताए ।