रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी फैसला भएर कारागारमै रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
बर्दिया २ बाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।
उनको उम्मेदवारीविरुद्ध नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेश पन्तले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार चौधरी प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य भएका हुन् ।
कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था ऐनमा छ ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थारू समुदायको आन्दोलनक्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको थियो । चौधरी फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
प्रकाशित मितिः २०७९ असोज २५ मंगलबार
