रवीन्द्र मिश्रद्वारा काठमाडौं-१ का लागि उम्मेदवारी घोषणा

भक्तपुर न्यूज

१४ असोज २०७९ ८:४३

रवीन्द्र मिश्रद्वारा काठमाडौं-१ का लागि उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- १ का लागि उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार उनले एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन्।

‘काठमाडौं १ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु, कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्‌मा बुलन्द गर्नेछु’, मिश्रले भने।

मिश्रले काठमाडौंलाई ‘धनीहरुको सुकुम्बासी बस्ती’ भएको बताए। काठमाडौं- १ बाट १५ वर्षदेखि निर्वाचित सांसदले केही नगरेको उनको भनाइ थियो। ‘यहाँ जेजे हुनुपर्थ्यो। त्यो केही पनि भएको छैन। जेजे नहुनुपर्थ्यो, त्यहीत्यही भइरहेको छ’, उनले भने।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि मिश्र यही क्षेत्रबाट उम्मेदवार भएका थिए। तर, विवेकशील साझा पार्टीबाट उम्मेदवार भएका मिश्र कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए। सिंहले १० हजार ९३६ र मिश्रले १० हजार ११८ मत मात्रै पाए।

‘अहिले जुन अजेन्डाहरु लिएर आएको छु। त्यो अजेन्डाको बलमा तपाईंहरुले सशक्त रुपमा मलाई विजयी बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने।

साझा पार्टीबाट राजनीतिक यात्रा थालनी गरेका मिश्रले विवेकशील नेपाली दलसँग एकता गरी विवेकशील साझा पार्टीको पनि नेतृत्व गरेका थिए। सो पार्टी विभाजन र पुनः एकतापछि उनले केही महिनाअघि अघि सारेको मार्ग परिवर्तन नामक दस्तावेज विवादमा परेको थियो।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि राजसंस्था पुनःस्थापनाको अजेन्डालाई प्राथमिकताका साथ उठाइरहेका छन्। उनी बुधबार मात्रै राप्रपा प्रवेश गरेका हुन्।

प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय