आयात नियन्त्रण गर्दा पनि साउनमा विदेशी मुद्रा सञ्चिति १२ करोड डलर घट्यो
काठमाडौं । आयात नियन्त्रणका बाबजुद साउन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति १२ करोड अमेरिकी डलर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार साउन महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर रहेको छ ।
जबकि असार मसान्तसम्म यस्तो सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबर थियो । यस्तो सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा उक्त विदेशी मुद्रा सञ्चितिले ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखमा सवारीसाधन, मोइबाल, मदिरा, चुरोट, सुर्ति, कुरकुरे/कुरमुरे, तास लगायत १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । भदौ १४ गतेदेखि भने केही वस्तुको आयात प्रतिबन्ध फुकुवा गरी सवारीसाधन, मदिरा तथा महँगा मोबाइल फोन आयात प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याइएको छ।
प्रकाशित मितिः २०७९ भदौ ३० बिहिबार
