महन्थ ठाकुर निवासीमा मधेशी दलको छलफल
भक्तपुर ११ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जाने नजाने बिषयमा मधेशबादी दलहरुबीच छलफल भैरहेको छ । तमलोपाका अध्यक्ष महन्त ठाकुरको सानो थिमीस्थित निवासमा चलिरहेको छलफलमा मधेशबादी सबै दलका नेताहरु
सहभािग भएको स्रोतले बताएको छ । राजपाको सहभागिताबारे छलफल गर्न मधेस केन्द्रित दलका तीन शीर्ष नेता सानोठिमीमा जम्मा भएका हुन् ।
राजपाको बिहीबार दिउँसो बसेको बैठक स्थानीय तह निर्वाचनमा भाग लिने विषयमा अनिर्णित भएपछि उपप्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव महन्थ ठाकुर निवास सानोठिमी पुगेको स्रोत बताउँछ ।
राजपाको दिउँसो बसेको बैठकमा अध्यक्ष मण्डलका ६ जना सदस्यसहितका नेताहरु उपस्थित थिए । उनीहरुबीच सरकारले आन्दोलनका घाइतेको उपचार, मृतकलाई सहिद घोषणा, राहत र स्थानीय तहको संख्या थप गरेकाले निर्वाचनमा जानुपर्ने र संविधान संशोधन लगायत माग अझै पूरा नभएकोले आन्दोलन गर्नुपर्नेमा मत बाझिएको स्रोतले जनाएको छ ।
महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी लगायतका नेता निर्वाचनमा जानुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो, राजकिशोर यादवहरु आन्दोलन भनिरहेका छन् । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गतेका लागि तय गरेको छ । पहिलो चरणको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।