समानुपातिकका उम्मेदवार छान्न कांग्रेस शीर्ष नेताहरूको बैठक

भक्तपुर न्यूज

२९ भदौ २०७९ ११:५५

समानुपातिकका उम्मेदवार छान्न कांग्रेस शीर्ष नेताहरूको बैठक

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री देउवाले चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । ‘सभापतिजीले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाउनुभएको छ, आगामी निर्वाचनमा उम्मेदवार चयनका विषयमा छलफल सुरू भएको छ, बैठकमा त्यही विषयमा कुराकानी हुन्छ,’ उनले भने ।

निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ । कांग्रेसको विधानबमोजिम क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाइसकेका छन् ।

विधानबमोजिम कांग्रेसमा केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । तर, अहिले संसदीय समिति भने अपूरो छ । सभापति देउवाले समितिमा छलफल गर्नुअघि पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूलाई बोलाएर त्यसबारे छलफल गर्न लागेका हुन् ।

२५ सदस्यीय हुने संसदीय समितिमा भने अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेलमात्रै मनोनीत छन् । कांग्रेसमा उम्मेदवार चयनमा केन्द्रीय संसदीय समितिको निर्णय नै अन्तिम हुने व्यवस्था छ । समितिको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनेछन् ।

प्रकाशित मितिः २०७९ भदौ २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय